काठमाडौं : सत्ता गठबन्धनको बैठक सकेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेस नेताहरुसँग आन्तरिक छलफलमा जुट्नु भएको हो ।
नेपाली काँग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा जुट्नु भएको जानकारी दिएकी हुन । शुक्रबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादवसँग एमसीसीबारे छलफल भएको थियो ।
आन्तरिक छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चालमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडू र काँंग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषाल लगायत सहभागी रहेका छन् ।
सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई प्रतिनिधिसभा संसदमा छलफल गर्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । यसै विषयमा छलफल गर्न फागुन ८ गते आइतबार बिहान १० बजे पुनः गठबन्धनको बैठक बस्ने सहमति भएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसीमा सहमति जुटाउन निरन्तर प्रयास जारी राख्दै आएका छन्।


