बर्दिया, असोज २८ (ई-रैवार)
जिल्ला ट्राफिक कार्यालय बर्दियाले सडक दुर्घटना न्युनीकरणका लागि अभियान संचालन गरिरहेको छ । सुरक्षित यात्रा अभियान अन्तर्रगत प्रदेश प्रहरी कार्यालय लुम्बिनीको निर्देशन अनुसार बर्दिया जिल्ला भरी सचेतना मूलक कार्यक्रम संचालन गरिरहेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले असोज १५ गते देखि २९ गते सम्म जिल्लाका बिभिन्न राजमार्ग हरुमा सचेतना मूलक कार्यक्रम संचालन भईरहेको जानकारी गराएको छ ।
यसै क्रममा नेपालगन्ज गुलरिया सडक अन्र्तगत गुलरिया नगरपालिका वडा नं.११ गणेशपुरमा पनि घरदैलो समेतको सचेतना मूलक कार्यक्रम गरिएको छ ।
दुर्घटनाको जोखिमका हिसाबले त्यसक्षेत्र संवेदनशिल भएकाले गणेशपुर क्षेत्रमा पनी सचेतना मूलक कार्यक्रम संचालन गरिएको हो । सुरक्षित यात्रा सचेतनामूलक कार्यक्रम अन्र्तगत चालक, सह—चालक, सडक प्रयोग कर्ता पैदल यात्रु र राजमार्ग किनारमा बस्ने नागरिकहरुलाई प्रशिक्षण दिएको छ ।

बर्दिया जिल्लामा ०७६/७७ मा भएको ८३ सडक दुर्घटनामा ३८ जनाले ज्यान गुमाउनु परेको हुँदा यस्तो अभियान संचालनले दुर्घटना न्युनिकरण हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक योगेन्द्र बहादुर खड्काले वताएका छन् ।
दुर्घटनाबाट जोगिन नागरिक स्वयं चेतनशील हुनु पर्ने प्रहरी नायब उपरिक्षक खड्काको भनाई रहेको छ । सडक किनारमा बाँधिने पशुका कारण पनि सवारी दुर्घटना हुने भएकाले सडक किनारमा पशु नबाध्नका लागि गुलरिया नगरपालिका वडा नम्बर—११ का वडा अध्यक्ष रामनारायण केशरीले निर्देशन दिएका छन् । केशरीले सडक किनारमा राखिएका पसल तथा घुम्तीहरु पनि हटाईने बताएका छन् ।
ट्राफिक प्रहरीले वेलामा वेलामा यस्ता किसिमका सचेतना मूलक कार्यक्रम संचालनले आम नागरिकमा चेतना आई सवारी दुर्घटनामा कमी आउने अध्यक्ष केशरीको भनाई छ ।
नागरिकको घरदैलोमा गई सवारी दुर्घटनाको जोखिमबाट जोगिन सडक किनारमा बस्ने स्थानीयहरुले अपनाउनु पर्ने सावधानीका बारे प्रशिक्षण गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब निरिक्षक लोकेन्द्र बहादुर मल्लले वताएका छन् ।
स्थानीय जन प्रतिनिधी, समाजसेवी, यातायात व्यवासायी लगायतको कार्यक्रममा सहभागिता रहेको ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब निरिक्षक मल्लले वताए ।



