काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल सकिएको छ । बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।
सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भएको बताएका छन् । आइतबार बस्ने सत्तारूढ गठबन्धनको बैठकले एमसिसीबारे सकारात्मक निष्कर्ष निकाल्ने उनले बताए।
शुक्रबार बिहान बालुवाटारमा गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरूबीच बैठक भएको थियो। उक्त बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद बैठकमा एमसिसी पेस नगर्न सहमत भएका हुन्।
‘पर्सि बिहान १० बजे गठबन्धनको बैठक फेरि बस्छ। त्यो बैठकले सकारात्मक निष्कर्ष निकाल्छ,’ प्रवक्ता एवं सञ्चार मन्त्री कार्कीले भने। उनले संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताए।
‘संसदमा लामो समयदेखि अवरोध छ। त्यो हटाउन प्रयास गर्नु प्रधानमन्त्रीको जिम्मेवारी हो। प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासँग कुरा गर्नुभएको हो,’ उनले भने।


