भारतकी कंग्रेस नेता सोनिया गान्धीको संस्मरण पुस्तक ‘बिलंगिङ स् अ जर्नी अफ् लभ‘ पढ्दै गर्दा म न्युयोर्कमा थिएँ। नेपालजस्तो स्वाभाविक, आफ्नोपनले भरिएको परिवेशबाट एकाएक न्युयोर्कजस्तो व्यवस्थित, वैज्ञानिक र असाध्यै तीव्र गतिमा चल्ने सहरमा पहिलोपल्ट पुग्दा म कतै हराइरहेकी थिएँ। त्यहाँ सबै कुरा आफ्नो समय र गतिमा चलिरहेका थिए। शब्द नै छ– न्युयोर्क मिनट ।
सहरलाई कतै पुग्नु थियो, मानिसहरूलाई कतै पुग्नु थियो, राजनीतिलाई पनि कतै पुग्नु थियो। सबैलाई हतार थियो। तर मलाई भने घर फर्किन हतार भइसकेको थियो। पहिले पनि म विदेशका सहरहरुमा पुगेकी थिएँ, तर यति ठूलो सहरमा आफूलाई यति एक्लो र अपरिचित कहिल्यै महसुस गरेकी थिइनँ। वरिपरि संसार आफ्नै गतिमा दौडिरहेको थियो, तर म आफ्नै मनभित्र कतै रोकिएकी थिएँ।सायद यही एक्लोपनका बीच मैले सोनिया गान्धीको बिलंगिङलाई अझ नजिकबाट महसुस गर्न सकेँ। इटलीमा जन्मेकी सोनिया मैनोले बेलायतको क्याम्ब्रिजमा राजीव गान्धीलाई भेट्छिन् । इटलीको मध्यमवर्गीय परिवारबाट आएकी १९ वर्षीया युवतीको पहिलो नजरमै राजीवसँग माया बस्छ । उता राजीवलाई पनि यस्तै हुन्छ । स्वतन्त्र भारतका निर्मातामध्येका एक नेता जवाहरलाल नेहरुका नाति रहेछन् राजीव, सोनियालाई पछि थाहा हुन्छ । त्यसपछि त धेरै कुरा हुन्छ । राजनीतिक दाउपेच, समाजका उहापोह, कुटनीतिका अनेक रंग लगायत धेरै कुरा किताबमा छन् । तर किन किन मेरो ध्यान प्रेम र अस्तित्वको खोजीमै बढ्ता गयो । किताब सुरु गर्दा मसँग इबुक थियो । बीचका केही भाग अडियोमा सुनें । तर आधाजति पुग्दा मसँग हार्डकपी हात परिसकेको थियो । अनि त म हाइलाइटरले कागजकै अनुच्छेदहरुमा कोर्दै पढ्न थालें ।अँ, म एक्लोपन र आफ्नोपनको कुरा गर्दै थिएँ । किनभने सोनियाको प्रेमकथाले प्रेमबारे समाजमा गहिरोसँग जरा गाडेर बसेका कैयौँ धारणालाई निर्मम ढङ्गले चुनौती दिएको छ। दूरी बढ्दै जाँदा प्रेम घट्छ, लामो समय टाढा रहँदा अर्को कोही मन पर्न थाल्छ, समयसँगै प्रतिबद्धता फेरिन्छ र परिस्थितिले मानिसको रोजाइ बदलिदिन्छ भन्ने सहजै गरिने टिप्पणीहरूलाई उनको जीवनकथाले प्रश्नको कठघरामा उभ्याउँछ।सायद मलाई पनि यस्तै चुनौतीहरूसँग अलि बढी नै लगाव छ। आफैँलाई प्रश्न गर्न, स्थापित मान्यताहरूलाई हल्लाउन र सजिला उत्तरमा चित्त बुझाउनुभन्दा असजिला प्रश्नहरूको सामना गर्न मलाई मन पर्छ। त्यसैले यो पुस्तक पढिरहँदा म सोनियाको राजनीतिक उचाइ, सत्ता र संघर्षका प्रसङ्गभन्दा बढी उनको प्रेम, प्रतीक्षा, धैर्य र प्रतिबद्धताका पानाहरूमा आफूलाई भेटिरहेँ।सोनियाको जीवनमा अर्को देश, अर्को समाज र अर्को परिवारबीच आफ्नो ठाउँ खोज्नुपर्दाको असहजता पढिरहँदा मलाई आफ्नै अपरिचितपनको अनुभूति भइरहेको थियो। म केही समयका लागि घरबाट टाढा थिएँ, तर सोनियाले त प्रेमका लागि आफ्नो जन्मभूमि नै छोडेकी थिइन्। एउटा छोटो यात्रामा निस्कँदा त म घर फर्किने दिन गन्दै थिएँ, जबकि यी महिला भने एउटा अपरिचित भूमिलाई आफ्नो घर बनाउन सिकिरहेकी थिइन्।
हो, त्यहीँबाट मैले उनको कथा पढ्न मात्र होइन, अझ महसुस नै गर्न थालेँ।



