काठमाडौँ,साउन ३ (ई–रैवार)
पुनर्स्थापित प्रतिनिधिसभाको बैठक जारी रहेको छ । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन दिउँसो ४ बजेपछि संसद् भवन नयाँ बानेश्वरमा चलिरहेको हो ।
बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् ।अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो । अदालतको परमादेशअनुसार असार २९ गते प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भइसकेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सरकारले विभिन्न अध्यादेश पेस गरेको छ । पूर्ववर्ती सरकारले जारी गरेका विभिन्न अध्यादेशलाई सरकारले प्रतिनिधिसभामा पेस गरेको हो । संसद बैठक नभएका बेलामा अत्यावश्यक कानुन निर्माण गर्न सक्ने संवैधानिक प्रावधानअनुसार केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न समयमा विभिन्न अध्यादेश ल्याएको थियो ।

ओली नेतृत्वको सरकारले विभिन्न समयमा विभिन्न अध्यादेश मध्ये संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेशलाई देउवा नेतृत्वको सरकारले खारेज गरेको छ भने अन्य अध्यादेशलाई नियमानुसार प्रतिनिधिसभाको पहिलो बैठकमै सरकारले पेस गरेको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकमा सरकारका तर्फबाट बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ ।

यस्तै, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८, नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८ पनि बैठकमा पेस गरिएको छ ।
रेलवे अध्यादेश २०७८, शपथ सम्बन्धी अध्यादेश २०७८, औषधि तेस्रो संशोधन २०७८, कोभिड १९ को संकट व्यवस्थापन अध्यादेश २०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ पनि सरकारले पेस गरेको छ ।
यस्तै, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पनि बैठकमा पेस गरिएको छ ।
प्रतिनिधिसभा पहिलो बैठक सकिएपछि १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । अब बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।
उक्त प्रस्ताव पेश भएपछि दलका प्रतिनिधिहरूले बोल्ने कार्यक्रम छ। प्रधानमन्त्रीमा देउवालाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चालगायतका सांसदले विश्वासको प्रस्तावको पक्षमा मत दिने भएका छन्।
यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदले पनि प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने तयारी गरेका छन्।


