राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई पठाउने नेकपाको निर्णय, खतिवडाको मन्त्री पद संकटमा

राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई पठाउने नेकपाको निर्णय, खतिवडाको मन्त्री पद संकटमा
Spread the love

 

काठमाडौं, भदौ १८ (ई-रैवार)

नेकपाले लामो समयको अन्योलता चिर्दै उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने  निर्णय गरेको छ । बालुवाटारमा भर्खरै सम्पन्न नेकपा सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा पठाउने निर्णय गरेको हो ।

सचिवालय बैठकको विचमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव निणायार्थ पेश गरेपछि उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा पठाउने निर्णय भएको हो ।

पार्टी सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तका लागि रिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।

नेकपाको गत मंसिरमा सम्पन्न बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरे पनि प्रधानमन्त्री ओलीका तर्फबाट सो निर्णय कार्यान्वयन गर्न ढिलाई हुँदै आएकाले नेकपा भित्र सो प्रकरणले विवाद हुदै आएको थियो ।

सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको रिक्त एक सीटमा गौतमलाई पठाउने कि अर्थमन्त्री डा. युवराज खतिवडालाई दोहोर्‍याउने भन्ने विवाद थियो । गौतमलाई सिफारिश गर्ने सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि नेकपाभित्र विवाद बल्झिएको थियो ।

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको पद धरापमा

राष्ट्रिय सभामा गौतमको पक्षमा निर्णय भएसँगै यही भदौ २० गते पदावधि सकिन लागेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको पद धरापमा परेको छ।

अर्थ तथा सञ्चारमन्त्री डा. खतिवडा मन्त्रिरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सांसद बनेका थिए। तर, चिठ्ठा तान्दा उनको कार्यकाल २ वर्ष कायम भएको थियो । । जसका कारण गत फागुनमा उनको पद सकियो। सांसद पद सकिएपछि सांसद नभएको व्यक्ति पनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनी पुनः मन्त्री नियुक्त भए।

तर, यसरी मन्त्री नियुक्त भएका व्यक्ति ६ महिना भित्र सांसद हुनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभामा हाल एकमात्र सिट खाली छ। जसमा गौतमलाई पठाउने निर्णय पार्टीले गरेका कारण अब खतिवडाको मन्त्री पद स्वतः निष्क्रिय हुने भएको छ ।