मुख्यमन्त्री शाही र नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

मुख्यमन्त्री शाही र नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने
Spread the love

सुर्खेत, असोज २७ (ई-रैवार) 

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाएका छन् । यस अघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले मंगलबार कुर्मराजलाई नियुक्त गरेका हुन् । स्रोतका अनुसार मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाहीलाई मन्त्री बनाउन मुख्यमन्त्री शाही तयार भएका छन्।

यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् । नेता नेपाल पक्षले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही बहुमतमा पुगेका छन् ।

संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।