बागलुङ, भदौ १८ (ई-रैवार)
बागलुङको ढोरपाटन नगरपालिमा बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा हिजो (बुधबार) राति आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको हो।
बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बिहीबार दिउँसो साढे ११ बजेसम्म ११ जनाको शव घटनास्थल र खोलाका किनारहरूमा भेटिएको बताएका छन । पहिरोले पुरेको बस्तीका २५ जना भन्दाबढी सम्पर्कविहीन रहेको र उनीहरू पहिरोमै परेको हुन या होइनन् यकिन भइनसकेको उनले जानकारी दिए ।
बुधबार राति १२ बजेदेखि खसेको पहिरोले बागलुङका ४० घरमा क्षति पुगेको छ । अधिकांश घर बगेका छन् भने कतिपय पुरिएको देखिएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताएका छन । पहिरो खोलामा मिसिएपछि आएको बाढीले सडक, झोलुंगेपुल र खानेपानीका मुहानसमेत क्षतविक्षत बनाएको छ ।
घटनाको जानकारी पाएपछि गएको प्रहरीको टोलीले बिहान साढे ७ बजेदेखि उद्धार थालेको थियो । स्थानीय बासिन्दा, नेपाली सेनासमेत पहिरो पन्छाउन खटिएका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार अहिलेसम्म मृतकमध्ये २६ वर्षीया केशमाया विकको मात्र पहिचान भएको छ । अन्यको सनाखत भइसकेको छैन । टोलीले घटनास्थलबाट ४ घाइतेको उद्धार गरेको छ ।
घटनास्थल सदरमुकाम देखि १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।
जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार उद्धारका लागि थप जनशक्ति पठाइए पनि बुर्तिवाङदेखि माथिल्लो खण्डमा सडक क्षतविक्षत भएकाले सहजै जान नसक्दा ढिलाइ भएको छ ।
गृहमन्त्री रामबहादुर थापा पहिरो प्रभावित क्षेत्र नजिकै पुगेर फर्किए
बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नजिकै पुगेर फर्किएको छ । मौसमका कारण घटनास्थलमा जान सक्ने अवस्था नभएको भन्दै नजिकै पुगेर हेलिकप्टरबाट पोखरा फर्किएका हुन् ।
बागलुङको ढोरपाटन नगरपालिको वडा नं. ७, ८ र ९ का क्षेत्रमा बाढीका कारण ८ जनाको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन् ।पहिरोको स्थलगत निरीक्षण र क्षतिको अवस्था बुझ्न गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमार्फत बागलुङ उडेका थिए । ‘बाढीको अवस्था बुझ्न गएका थियौं । मौसमका कारण जान सक्ने अवस्था रहेनछ,’ गृहमन्त्रीसँगै गएका बागलुङका सांसद तथा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने, ‘मौसमले साथ नदिएपछि घटनास्थल नजिकै पुगेर फर्किनुपर्यो ।’
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बागलुङबाट फर्किएर पोखरा विमानस्थलमा ओर्लिएको गृहमन्त्री सवार हेलिकप्टर काठमाडौं फर्किएको जानकारी दिए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आफू घटनास्थलतर्फ गइरहेको र गृहमन्त्री थापासहितको टोली मौसमका कारण पहिरो स्थलमा पुग्ने अवस्था नभएपछि फर्किएको जानकारी पाएको बताए ।
‘अहिले घटनास्थलतर्फ जाँदैछौं । गृहमन्त्रीको हेली मौसमका कारण फर्किएछ,’ सीडीओ न्यौपानेले भने, ‘घटनास्थल सदरमुकामबाट झण्डै १ सय ४० किलोमिटर दूरीमा पर्छ । पानी परिरहेको छ, हुस्सु लागिरहेको छ । बाढी अझै कम भइसकेको छैन ।’


