कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण
Spread the love

भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो । मृत्युको कारण कोरोना थिएन् । अन्य रोग थियो ।
भारतबाट फर्किएको चारदिन नबित्दै बैतडीको पुर्चौडी नगरपालिका–४को भटनामा रहेको मालिका माध्यामिक विद्यालयको क्वारेन्टीनमा एक २२ वर्षिया युवतीले ज्यान गुमाईन् । जेठ १६ गते गौरिफण्टा नाका भएर फर्किएकी उनको जेठ २० गते मृत्यु भएको थियो । भारतबाट फर्किएकाले कोरोना आशंका गर्दै मृत्युपछि ‘थ्रोट स्वाब’ नमूना संकलन गरी धनगढीमा परीक्षण गरियो । नतिजा पिसिआरले ‘नेगेटिभ’ देखायो ।
उनी लामोसमयदेखी मुटुरोगी थिईन् । सोही समस्याको उपचार गर्न भारत पुगेर फर्केकी थिईन् । सो कुरा पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुँवरले पुष्टि गरे । ‘शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा समेत उपचार गराईसकेकी रहीछन्,’ परिवार स्रोतलाई जनाउदै उनले भने,‘औषधी उपचारकै भारत गएर फर्केको अवस्थामा क्वारेन्टीनमा थिईन् । नियमित औषधी सेवन गर्दै आएकी थिईन् ।’ त्यसपछि लकडाउनका कारण औषधी सकिएको १४-१५ दिन भईसकेको थियो । ‘नेपालमै पाईहाल्ला भनेर आएका रहेछन्। तर यहाँ त्यो औषधी मिलेन,’ उनले अगाडी थप्दै भने । उनको मृत्युको कारण कोरोनाको औषधि नपाउनु बन्यो ।
डडेल्धुरामा जेठ १८ गते क्वारेन्टीनमै बसेका एक बालकको ज्यान गयो । भारतबाट फर्किएर नवदुर्गा गाउँपालिकाको क्वारेन्टीनमा बसेका ६ वर्षीय बालकको मृत्यु भयो । उनको पिसिआर नतिजा पनि ‘नेगेटिभ’ नै आएको थियो । पछि ती बालकमा कालाजार रहेको पुष्टि भयो । कालाजारको औषधि सेवन गर्न नपाएकै कारण उनको मृत्यु भएकोहुनसक्ने सरोकारवाला स्विकार्छन् ।
स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ती हरिप्रसाद भट्टले ती बालकको मृत्युको कारण कालाजार हुनसक्ने बताए । उनले भने,‘ती बालकले समयमै उपचार पाएको भए बचाउन सकिने अवस्था हुन्थ्यो ।’
डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–१ को असिग्राम आधारभुत विद्यालयको क्वारेन्टीनमा जेठ २१ गते ३० वर्षिया महिलाको मृत्यु भयो । उनमा पनि पिसिआर परीक्षण नतिजामा कोरोना पुष्टि हुन सकेन् । कोभिड–१९ सम्पर्क व्यक्ती भट्टका अनुसार उनमा कुनै किसिमको स्वास्थ्य समस्या भने थिएन । तर कोरोनाकै त्रासले महिलामा अन्य कुनै परीक्षण गरिएन् ।
मुटु रोगले ग्रसीत डोटीको केआईसिह गाउँपालिका–३ का १९ वर्षिय युवकको क्वारेन्टीनमै ज्यान गयो । उनी भारतबाट फर्किएर स्थानीय सिताराम आधारभूत विद्यालयको क्वारेन्टीनमा थिए । उनमा झण्डै १३ वर्षदेखि मुटु सम्बन्धी रोगको समस्या भएको परिवार स्रोतले जनाएको छ । मृत्युपछि गरिएको परिक्षणमा उनमा कोरोनाको संक्रमण देखिएन् ।
यसरी सुदूरपश्चिम प्रदेशमा क्वारेन्टीनमै रहदा मृत्यु भएका पाँचजनाको मृत्युको कारण कोरोना नभएर अरु नै कुनै रहेको देखिन्छ । उनीहरुले कोरोनाकै डरले समयमा उपचार पाएनन् । जसले मृत्युवरण गर्नुप–यो ।
कोरोना त्रासले अन्य गम्भीर प्रकृतिका रोगबाट ग्रसित बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्नुपर्ने स्थिति सिर्जना भएको चिकित्सकहरु बताउँछन् । सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. निराजनदत्त शर्मा क्वारेन्टीनमा राख्दा विशेष सावधानी अपनाउनुपर्ने बताउँछन । ‘पूर्व रोग भएका बिरामीलाई परीक्षण बिना क्वारेन्टीनमा बस्दा खानपान, रहनसहन, मानसिक तनाव लगायतका कारण रोग बढ्न सक्ने सम्भावना प्रबल हुन्छ,’ उनले भने,‘पूर्व रोग भए÷नभएका सबैको हकमा क्वारेन्टिनमा राख्दा कलेजो, छाती, मुटु, फोक्सो, मृगौला सम्बन्धी जाँच गर्नु पनि अतिआवश्यक हुन्छ ।’ त्यसो गर्न सकिए धेरै हदसम्म जोखिम न्युनिकरण गर्न सकिने उनले बताए । ‘क्वारेन्टीनमा बस्दा हेपाटाईसि बी, एचआईभी लगायतका सरुवा रोगको समेत परीक्षण गर्न सकेमा लुकिरहेको रोग पत्ता लगाउन पनि सकिन्छ । एवंम् पूर्व रोगीहरुको हकमा पनि सावधानी अपनाउन सकिन्छ,’ उनले अगाडी भने ।

(फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा ।)