राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारी डिस्चार्ज

राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारी डिस्चार्ज
Spread the love

काठमाडौं, असोज २१ (ई-रैवार)

सडक दुर्घटनामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टोली खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत भदौ २८ गते कञ्चनपुरमा सडक दुर्घटनामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टोली खेलाडी भण्डारी ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचारपछि  डिस्चार्ज भएका हुन् ।

महेन्द्रनगरबाट धनगढी आउनेक्रममा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए । सुरुमा धनगढी उपचार गरेपछि नेपालगन्ज लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टर मार्फत काठमाण्डौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको खुट्टा र हात धेरै ठाउँमा भाँचिएको थियो ।

चिकित्सकले ललितलाई केही महिना आराम गर्न सुझाव दिएका छन् । ललित घाइते भएपछि नेपाल क्रिकेट खेलाडी संघले सहयोग अभियान चलाएको थियो ।

ललितको उपचारका लागि सिप्यानले सहयोगार्थ उठेको सहयोग रकम हस्तान्तरण गरेको छ । जम्मा भएको १० लाख ८ हजार मध्ये ६ लाख २८ हजार ललितको श्रीमतीलाई हस्तान्तरण गरेको छ । त्यस्तै बाँकी ३ लाख ८० हजार उनलाई काठमाडौं ल्याउदा प्रयोग भएको सिम्रिक एयरलाई दिएको सिप्यानले बताएको छ ।

चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए । विभागीय टिम पुलिसमा आवद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।