काठमाडौं, असोज ३० (ई-रैवार)
आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।
जिल्लाका स्थानीय तहहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्र दशै मनाउन अनुरोध गरेपनि नागरिकहरुले भने यसको पालना खासै गरेको पाइएको छैन । सामाजिक दूरी मात्र नभएर कतिपयले मास्क समेत प्रयोग गरेका छैनन् ।


