धनगढी माघ २९(ई-रैवार)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालक धन्दामा सक्रिय रहेको खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सवारी चालक किसन सिजापती(पञ्जाबी) नक्कली प्रहरी निरिक्षक बनेर धनगढीमै ठगी धन्दामा सक्रिय रहेको खुलेको हो।
माघ २ गते धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बडहरा घरभर्इ मिलनचोकमा मर्मत पसल सञ्चालन गरिरहेका चन्द्रभान शर्मासंग पनि सिजापतीले नक्कली प्रहरी निरिक्षक बनेर रकम असुली गरेपछि उनको ठगी धन्दा खुलेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार शर्माबाट भारतीय नम्बर प्लेटको मोटरसाईकल चोरीको हो र हामी जिल्ला प्रहरी कार्यालयबाट आएका हौँ भनेर सिजापती सहित तीन जनाले दुई हजार ५ सय रकम असुली गरेका थिए। शर्माले तीनै जनालाई कारवाही गरी पाउँ भनि उजुरी दिएपछि सिजापती सहित तीन जना पक्राउ परेका थिए।
धनगढी उपमहानगरपालीका वडा नम्बर ५ हसनपुर बस्ने बर्ष ३५ का गौरव हमाल र वडा नम्वर ७ बस्ने सनम भण्डारी सहित पक्राउ परेका सिजापती अन्य गठीमा पनि संग्लन रहेको भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘सिजापतीले घर परिवारका सदस्यलाई समेत आफु प्रहरी निरिक्षक नै भएको बताएका रहेछन्। उनले सवारी चालक अनुमती पत्र लाईसेन्स बनाईदिने र कर्मचारीको सरुवा बढुवा गरिदिने भन्दै समेत ठगी गरेको फेला परेको छ। ठगीमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ।’


