काठमाडौँ, जेठ २४ (ई-रैवार)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि फेरी ६ बुँदे प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गरेका हुन् ।
पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै ओलीले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् ।
ओलीले गरेको आह्वानमा पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने बताएका छन् । संगठनात्मक क्षेत्रका निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने प्रस्तावमा उल्लेख छ ।
यस्तै पार्टीका नेताहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही नगरिने र पूर्वाग्रह र भेदभाव पनि नगरिने ओलीले बताएका छन् । एमालेभित्र माधव कुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने समेतको तयारी गरिरहेको भनिएको बेला ओलीबाट एकताको लागि आह्वान भएको हो ।
एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भएपनि पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको उनले बताएका छन । पार्टी अध्यक्षको हैसियतमा आफूले एकताका निम्ति पहल पनि गरेको भन्दै उनले भनेका छन्, ‘हाम्रो अनवरत प्रयासका बाबदुज जे नहुनुपर्ने, त्यही भइरहेको छ ।’
अध्यक्ष ओलीले ६ बुँदे प्रस्ताव सहितको आह्वान बारे माधव नेपाल पक्षका नेताहरुले औपचारिक धारणा आज बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने बताउका छन् । एमाले माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले भने, ‘आज १० बजे स्थायी कमिटीका साथीहरुसँग छलफल गर्छौं र औपचारिक धारणा बनाउँछौं ।’
शुक्रबार मात्र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप लगाएको छ । आफूहरुले अघि सारेको प्रस्तावहरु निश्चिय समय सीमामा विश्वसनीय कार्यान्वयन हुने सहमति भए मात्र ओली एकताको पक्षमा रहेका ठहरिने, अन्यथा एकताको नाममा नअलमलिने र वैकल्पिक बाटो अबलम्बन गर्ने चेतावनी दिएको थियो ।




