३० अर्ब रूपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक

३० अर्ब रूपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक
Spread the love

काठमाडौं असोज। नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ । बैंकहरूमा अधिक तरलता कायमै भएपछि केन्द्रीय बैंकले एक महिनाका लागि ३० अर्ब रूपैयाँ निक्षेप तान्न लागेको हो । यसका लागि मध्यान्ह ३ बजे बोलकबोल हुँदैछ ।

बोलकबोलमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरूले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ । अहिले बैंकहरूमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा राष्ट्र बैंकले एकै पटक ३० अर्ब रूपैयाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।

बोलकबोलमा बैंकहरूले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।२८ दिन अर्थात् आगामी १८ कार्तिक बैंकहरूलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरूमा पैसा थुप्रिएको छ । अहिले बैंकहरूमा करिब ८४ खर्ब ५८ अर्ब निक्षेप हुँदा कर्जा प्रवाह ६० खर्ब ६१ अर्ब रूपैयाँ छ । सीडी रेसियोको सीमाअनुसार बैंकहरूसँग साढे १६ खर्ब रूपैयाँ ऋण दिन मिल्ने पैसा छ । तर कर्जाको माग बढ्न नसक्दा बैंकहरूमा उक्त पैसा थुप्रिएको छ । त्यसपछि राष्ट्र बैंकले बैंकहरूमा भएको पैसा तान्दै आएको छ ।