काठमाडौं :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले केन्द्रीय सदस्य उम्मेदवार बन्न चाहनेहरूको सूची तयार पार्न ९ जना नेतालाई जिम्मा दिएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको बुढानिलकण्ठस्थित घरमा बुधबार बसेको बैठकले प्रदेशअनुसार आकांक्षीको सूची बनाउन नेताहरूलाई जिम्मेवारी दिएको हो।
शुक्रबारदेखि सुरू हुने १४ औं महाधिवेशनमा सभापति देउवा पक्षले केन्द्रीय सदस्य उम्मेदवार बन्न चाहनेहरूको सूची तयार पार्न सुदूरपश्चिममा एनपी साउँद र रमेश लेखक, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बागमतीमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल र प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिएको छ ।
‘प्रदेश अध्यक्ष र उम्मेदवारसँग पनि परामर्श गरेर नेताहरुलाई आकांक्षीको नाम सिफारिस गर्न भनिएको छ,’ कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भनिन्, ‘बिहीबार १२ बजेसम्म नाम दिन भनिएको छ । त्यसपछि बैठक बसेर अन्तिम टुंगो लगाइन्छ ।’
अहिले कांग्रेसका विभिन्न तहका नेताहरूले खुला र समावेशीतर्फ केन्द्रीय सदस्य उठ्ने घोषणा गरिरहेका छन्। तीमध्ये अन्तिम टुंगो लगाउन आफ्नो समूहका आकांक्षीको सूची तयार पार्न देउवा पक्षले नेताहरूलाई जिम्मवारी दिएको हो।
कांग्रेसमा १६७ सदस्यीय केन्द्रीय समिति छ। त्यसमध्ये ३३ जना मनोनित हुन्छन् भने १३४ जना चुनावी प्रतिष्पर्धाबाट आउँछन्। १३४ मध्ये ३५ जना खुला केन्द्रीय सदस्य हुन्छन् भने बाँकी ९९ जना विभिन्न कलस्टरबाट छानिन्छन्।
सभापतिमा देउवाको उम्मेदवारी निश्चितजस्तै भएपनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन संस्थापन समूहमा सकस छ ।उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिबाहेक दोस्रो पदका लागि दावेदार भएको बताए । उनले भने, ‘सभापतिमा मेरो इच्छा छैन तर त्योभन्दा दोस्रो पदमा मेरो दावी रहन्छ ।’ तर गच्छदारले उपसभापति पदमै उम्मेदवारी रहनेबारे प्रष्ट नबोलेको बैठकमा सहभागी एक नेताले बताए ।
संस्थापन समूहबाट महामन्त्रीमा हालका सहमहामन्त्री डा. प्रकाशरण महत, नेताहरु बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा छन् । बैठकमा पाँचै जनाले महामन्त्रीमा दावी गरेका थिए ।
त्यस्तै सहमहामन्त्रीमा खस आर्यतर्फबाट किशोर सिंह राठौर, मधेशीबाट अजय चौरासिया र महेन्द्र यादव, महिलाबाट डा. डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाले दावी गरेका छन् भने पुष्पा भुसालले पनि पदाधिकारीमा दावी गरेको संस्थापन पक्षका एक नेताले बताए ।
देउवा पक्षबाट पदाधिकारीका आकांक्षी धेरै भएपछि बिहीबार फेरि बस्ने गरी बैठक सकिएको छ । यस विषयमा छलफल गर्न आज बैठक बसेको थियो। आज कुनै निर्णय भने भएन। यसबारे थप छलफल गर्न बिहीबार फेरि बुढानिलकण्ठमा बैठक बस्दैछ।
कांग्रेस महाधिवेशन शुक्रबार (मंसिर २४ गते) उद्घाटन हुँदैछ । मंसिर २५ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका छ । तर कांग्रेसमा संस्थापन र इतर दुबै पक्षले अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।


