काठमाडौं असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका ५ व्यावसायिक फर्मलाई ७ लाख १६ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान उल्लंघन गरी म्याद गुज्रिएका सामान बिक्री गरेको, मूल्य र लेबल नराखेको तथा खरिद बिल चुस्त नराखेको पाइएपछि विभागले अनुगमनकै क्रममा ती फर्मलाई तत्कालै नगद जरिबाना तिराएको हो ।सबैभन्दा ठूलो कारबाही आरआरआर इन्टरनेसनल ट्रेडिङ प्रालिलाई गरिएको छ । कागेश्वरी मनोहरास्थित उक्त फर्ममा म्याद गुज्रिएका मैदा, मस्यौरा लगायत खाद्य सामग्री फेला परेपछि विभागले २ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो ।त्यस्तै शंखरापुरमा रहेको सलम्बु फुड एन्ड बेभरेज प्रालिलाई पानीमा मूल्य र लेबल नभएका कारण २ लाख १० हजार रुपैयाँ जरिबाना गरिएको छ भने सोही प्रकृतिको कसुरमा कागेश्वरी मनोहराकै श्री कृष्ण बेभरेजलाई २ लाख १ हजार जरिबाना तिराइएको छ ।अनुगमनकै क्रममा ललितपुर सातदोबाटोमा सञ्चालित एप्पल इन्टरप्राइजेज प्रालिलाई लेबल सम्बन्धी नियम पालना नगरेको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरिएको छ । यसैगरी कोटेश्वरको शिवम् स्टोरले सामान खरिद गरेको बिल नराखेको पाइएपछि ५ हजार रुपैयाँ जरिबानामा परेको छ ।नगद जरिबाना बाहेक विभागले अन्य ८ व्यावसायिक प्रतिष्ठानलाई भने तत्कालका लागि सचेत गराउँदै सामान्य निर्देशन दिएको छ ।


