काठमाडौँ, कार्तिक ५ (ई-रैवार)
विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । एमालेको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएपछि १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका हुन् ।
शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकमा नरहने जानकारी दिएका हुन् ।
‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए ।
स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने – ‘कार्यदलको प्रतिवेदन स्थायी कमिटीमा राखेको थिएँ । कार्यान्वयनको प्रस्ताव पनि गरेको थिएँ । राम्रो वातावरणमा छलफल भएको थियो तर निष्कर्ष सुनाउँदै गर्दा अध्यक्षले हाम्रा सबै छलफल, १० बुँदे सहमति, अन्तरपार्टी निर्देशिका-१२ भन्दा भिन्नै किसिमले १० बुँदे कार्यान्वयन नगर्ने दिशाबाट कुरा राखेको हुनाले सहमत हुन सकेन,’ रावलले भने, ‘त्यसकारण मैले ५ पृष्ठ लामो फरक मत दर्ज गरेको छु ।
कार्यदलमा यति लामो कुरा गर्दा पनि र ‘भीम रावललाई नै जिम्मा छ नि कार्यान्वयन गरिहाल्छ नि !’ भनेर कतिपय साथीहरूले सार्वजनिक रूपमा अन्तर्वार्ता दिने अनि कार्यदलमा भएका छलफल र निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बस्नुको कुनै औचित्य नभएको हुनाले राजीनामा दिने घोषणा बैठकमा गरेको छु ।’
उपाध्यक्ष रावलले पेस गरेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले पनि सहमति गरेको बताइएको छ । ‘मेरो फरक मतका ५-६ बुँदामा मेरो पनि सहमति छ भनेर उपमहासचिव घनश्याम भुसालले भन्नुभएको छ,’ रावलले भने ।
एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनको विषयमा छलफल गर्न र प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो ।
सोही विषयमा नै छलफल गर्न कात्तिक ११ गते स्थायी कमिटी बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका लागी २०७७ चैत्र मशान्तसम्म नवीकरण र नयाँ सदस्यता बनेका योग्य हुने निर्णय बैठकले गरेको छ । त्यस्तै महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
शुक्रबारको बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहम्मद समिरलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् ।
स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि उपाध्यक्ष रावलले असहमति जनाए ।बैठकले १० बुदे सहमति कार्यान्वयनका लागि देखिएका समस्या केन्द्रीय कमिटी बैठकअघि नै समाधान गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।
असार २७ गते एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेको थियो । एमाले विभाजन हुने क्रममा सोही कार्यदलमा टेकेर तत्कालीन माधवकुमार नेपाल पक्षमा रहेका १० स्थायी कमिटी सदस्यहरू एमालेमै रहेका थिए । तर, उक्त सहमतिलाई पछिल्लो समय अध्यक्ष ओलीले नै औचित्यहिन बताउँदै आएका थिए ।


