काठमाडौँ, जेठ २६ (ई-रैवार)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताएका छन् । कांग्रेसका सभापति देउवाले आज एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
सभापति देउवाले वक्तव्य जारी गर्दै भनेका छन् ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’
उनले वक्तव्यमा भनेका छन्, “विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु ।”
देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कांग्रेसमा आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो’ उनले भनेका छन् ।
असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताएका छन् । कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो। तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन।
अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य पुगेका छन्। कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेको छ तर सिन्धुपाल्चोकलगायत जिल्लामा क्रियाशील सदस्यता वितरण नै भएको छैन।
यस्तो अवस्थामा पूर्वनिर्धारित समयमा महाधिवेशन हुन गाह्रो भएकोले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवालाई महामारीकै बीचमा पनि महाधिवेशन गर्न ध्यानाकर्षण गराइरहेका छन्।
सभापति देउवाले आज प्रेस विज्ञप्ति निकालेर भदौमै महाधिवेशन हुने प्रष्टाएका छन्।




