काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति, महाअभियोग प्रस्ताव, संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन् ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापालगायत सहभागी छन् ।


