काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । दाहाल र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन ।
प्रधानमन्त्री देउवाको सचिवालयले आज बिहान ९:३० बजेदेखि १० बजेसम्म अध्यक्ष नेपालले र त्यसपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेको जानकारी दिएको हो।

‘सामान्य भेटघाट हो, गठबन्धन दलहरूबीच सहमतिबाट एमसीसी अनुमोदन भइहाल्यो, समसामयिक विषयमा सामान्य छलफल हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘पहिले नेपाल र पछि दाहालले छुट्टाछुट्टै भेट्नुभएको हो ।’
अमेरिकी सहयोग नियोग (एमसिसी) पारित भएपछिको अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे आज उनीहरूले छलफल गरेका छन्। एमसीसीसँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएपछि दाहाल र नेपालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
गठबन्धनमा चर्को विवाद र बहसका बीच गठबन्धन सरकार जोगाउनुपर्ने भन्दै प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित आइतबार एमसीसी सम्झौता अनुमोदन भएको थियो । सत्ता गठबन्धन दलहरु अब स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् ।


