माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

Spread the love

काठमाडौं : नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका हुन ।

आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको सचेतक गुरुङले बताए । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै आवश्यक निर्देशन दिने भएका छन् ।

बैठकमा प्रतिनिधिसभा बैठकका कार्यसूचीलगायत विषयमा माओवादी केन्द्रका सांसदले निभाउने भूमिकाबारे छलफल हुनेछ । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र महाअभियोग प्रस्तावबारे बैठकमा निर्णय गरिने बताइएको छ ।

आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने तयारी छ । एमसीसीविरुद्धको जनमतका कारण माओवादी नेतृत्वलाई भने एमसीसी संसदबाट पास नगर्न दबाव छ ।

माओवादी केन्द्रले संसदमा जारी अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी अघि नबढाउन भनिरहेको छ। ‘पार्टीको स्पष्ट धारणा छ– कि चुनावछि सारौं कि राष्ट्रिय सहमति कायम गरौं। त्यो नभई एमसीसी अघि बढाउने कुरामा हाम्रो पार्टी छैन’, एक नेताले भने।