काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सरकारको ६ महिना पूरा भएको तथा देश कोरोना महामारीको संकटमा रहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उनको सचिवालयले जनाएको छ ।
“प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।”
देशमा संघीय निर्वाचन, स्थानीय निर्वाचन वा तीनै तहका निर्वाचन एकसाथ गराउने विषयमा बहस भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन गराउनका लागि शुक्रबारसम्म मिति घोषणा हुनुपर्ने सर्त राखेको छ । यही दिन प्रधानमन्त्रीले गर्ने सम्बोधनलाई महत्त्वका साथ हेरिएको छ ।
कांग्रेस सभापति देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बनेका थिए ।


