काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका तर्फबाट दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउ भनि सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको हो ।
नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो । सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।
सोही आदेश खारेजीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदन दिएका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेसी तोकिएको छ । प्रचण्डले दायर गरेको रिटमा अन्तरकालीन आदेश खारेजीको माग गरिएको छ ।


