काठमाडौं, वैशाख १९ (ई-रैवार)
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा देखिएको प्रवृति अलोकतान्त्रिक र असंवैधानिक भन्दै निन्दनीय भएको बताएका छन् । सभापति देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन:नियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै निन्दनीय भएको बताएका हुन ।
आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु ।’
‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन,’ देउवाले विज्ञप्तिमा भनेका छन् ।
सभापति देउवाले नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
‘संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो’ उनले भनेका छन् ।
केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर भएको उनले बताए । ‘बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनी सहित अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेका बेला आइतबार उनले अचानक राजीनामा दिएका थिए । त्यसपछि एमालेले आफ्नो एकल बहुमतको सरकार दावी गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएको थियो । प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार नै मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा नेकपाबाट निर्वाचित सांसदले आइतबार नै आफ्नो संलग्नता नेकपा माओवादी केन्द्रमा रहेको बताएकी छन् । त्यस्तै आइतबार नै एमालेका एक सांसदले सांसद पदबाट राजीनामा दिएका छन् भने सूर्य चिह्नबाट चुनाव जितेका दुई सांसदले पोखरेलको साथ छाडेर विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका छन् ।


