प्रधानमन्त्री देउवा भने- एमसीसी राष्ट्रघाती भन्नेले पढेको छैन, म पनि देशको प्रधानमन्त्री हुँ ! राष्ट्रघाती सम्झौता गरौँला त ?

Spread the love

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिएका छन् । नेकपा माओवादी केन्द्रको आइतबार आठौँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले एमसीसीको विरोध गर्नेहरुलाई सम्झौता पढ्न आग्रह गरेका हुन् ।

‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसीसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती भन्दियो’, प्रधानमन्त्री देउवाले भने । आफूअरु नै कुरा भन्न उपस्थित भएको भएपनि एमसीसीको कुरा आएकाले बोल्नै पर्ने बाध्यता भएको सुनाए ।

“एमसीसी राष्ट्रघाती भन्नेले पढेकाे छ कि छैन ? म पनि देशको प्रधानमन्त्री हुँ । राष्ट्रघाती सम्झाैता गराैँला ? नेपालकाे हितमा छ ।  सित्तैमा आएकाे पैसा हाे । बुझ्नुपर्‍यो क्या,” उनले भने- राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा कहि राष्ट्रघात देखेको छैन’, प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले आफू पनि नेपालको प्रधानमन्त्री भएको भन्दै प्रश्न गरे ‘म राष्ट्रको खिलाफमा जाउँला ? म पनि राष्ट्रका लागि लडेको मान्छे । त्यसकारण तपाईंहरु पढ्नुस्, अध्ययन गर्नुस् ।’

प्रधानमन्त्री देउवाले एमसीसीको रकम सित्तैमा आएको समेत बताए ।  उनले एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डसँग कुरा भइरहेको भन्दै भने, ‘हाम्रो बिचमा छलफल हुँदैछ, प्रचण्डजीसँग पनि । यो सित्तै आएको पैसा हो, सित्त्तैमा आएको पैसा कसैले चाहिन्न भन्छ ?’ उनले विश्व बैंक एडीबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानुन लागु हुने भन्दै एमसीसीले नेपालको कानुन मान्छु भन्दा पनि नमानेको भन्दै आक्रोश व्यक्त गरे । उनले एमसीसीबारे राम्रोसँग बुझ्न आग्रह समेत गरे । देउवा अघि बोल्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिएकी थिइन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेपालको राजनीतिमा ठूलो योगदान गरेको बताए । प्रचण्डका कारण देशले संविधान पाएको बताए । उनले समावेशी, संघीयता र गणतन्त्र भएको संविधान ल्याउनमा प्रचण्डको महत्वपूर्ण योगदान रहेको बताए ।

“मुलुकले पाएको संविधान ल्याउन प्रचण्डको महत्वपूर्ण र ठूलो योगदान छ,” उनले भने- ‘नेपाली कांग्रेसले २००७ सालमा उठाएको संविधान सभाको मुद्दा प्रचण्डजी फेरि उठाउनु भयो। उहाँकै अगुवाइमा हामी संविधान सभामा गयौं,’ देउवाले भने।

प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार कसैका विरुद्ध नभएको पनि बताए । संसद्लाई पूरा अवधि चलाउनका लागि गठबन्धन बनेको हो उनले भने । देउवाले गठबन्धन पनि पछिसम्मै चल्ने बताएका छन् । उनले यो गठबन्धन नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नभएको बताए ।