काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा सोमबार बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि गहन छलफल हुनेछ । पार्टीको २५ वर्षको समीक्षा पनि गरिनेछ ।
सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको जानकारी दिएका छन् । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।
नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।बन्दसत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ ।


