डडेल्धुराः डडेल्धुरामा महिला वडा सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपमा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष शेरसिँह माल ‘डायमण्ड’ लाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो।
गत मंसिर १० गते माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राजमति ऐरलाई दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार दुव्र्यबहार गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको हो।
मंसिर दोस्रो साता परशुराम नगरपालिका वडा नम्बर ३ की वडा सदस्य ऐर आफ्नो घर शिर्षबाट लालढुंगा बजार हिँडेकी थिइन्। आफ्नो दाँतको उपचार गर्न र नेपाली काँग्रेसका जिल्ला सभापतिमा चयन भएका परशुराम नगरपालिकाका नगप्रमुख भीमबहादुर साउँदको सम्मान कार्यक्रममा सहभागी हुने समेत उनको सोच थियो।
तर कसैले नेकपा माओवादी केन्द्रका नगरकमिटी अध्यक्ष डायमण्डलाई वडा सदस्य ऐर नेपाली काँग्रेसमा प्रवेश हुन गइरहेको भन्ने गलत सूचना दिएछ। रंगुन खोला नजिक ऐर सवार मोटरसाइकल रोकेर डाइमण्डले हातपात गरेको आरोप लागेको छ। राजमातीका अनुसार डायमण्डले उनीलाई जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेका थिए।
डडेल्धुरामा महिला सदस्यमाथि दुर्व्यवहार गर्ने माओवादीका नगर अध्यक्ष पक्राउ


