काठमाण्डौँः नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले १४ औँ महाधिवेशनमा सभापति पदमा गरेको दाबी छाडेका छन् । उनले रामचन्द्र पौडेललाई समर्थन गर्दै सभापतिको दौडबाट बाहिरिएका हुन् ।
सभापतिमै दाबी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा मंगलबार दिउँसोदेखि संस्थापन इतर पक्षको बैठक चलिरहेको छ । सोही बैठकबाट निस्किएर उनले पौडेललाई समर्थन गदै आफुले सभापति पदमा दाबी छाडेको बताए । ‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडेँ। रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नु भएको छ’ कोइरालाले भने, ‘तर अरु मिलेमा उहाँले पनि छोड्ने संकेत गर्नुभएको छ।’
जारी इतर पक्षको बैठकमा सो पक्षबाट साझा उम्मेदवार तय गर्नेगरी छलफल भईरहेको छ ।
कोइरालाका अनुसार सभापतिका अन्य दुई दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह मिलेर उठ्न तयार भएमा पौडेलले पनि दाबी छाड्न तयार भएका छन्।
‘शेखर र प्रकाशमान मिल्न तयार भएमा रामचन्द्र पौडेलले पनि सभापतिको दाबी छाड्ने संकेत गर्नु भएको छ’, उनले भने, ‘हामीसँग छलफल गर्ने समय अब छैन। राति टुंगिन नसके भोलि बिहान त पक्कै पनि सकिन्छ।’


