काठमाडौँ, चैत २९ (ई-रैवार)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधीकारीहरुको बैठक बोलाएका हुन् ।
पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकार गठनका विषयमा पनि छलफल गरिने भएको छ । कांग्रेसले सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने, नयाँ सरकार गठनको नेतृत्व गर्ने निर्णय गरेको थियो ।
यसअघि २७ चैतमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका थिए । यद्यपि छलफलले ठोस निष्कर्ष निकाल्न सकेको थिएन।


