बैतडी :
बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिकास्थित यात्रुवाहक जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार मृत्यु हुनेमा पाटन नगरपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, २० वर्षीया मनिषा विक, १६ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई छन्।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राकेश शाहीले सोमबार बेलुकी पाटन नगरपालिका-१ सकारमा पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा ६ जना घाइते छन् । घाइतेको प्रहरीले उद्वार गरिसकेको र उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याएको उनले बताए ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक शाहीले जीपका चालक फरार रहेको बताए। सडकबाट करिब डेढ सय मिटर तल खसेर जीप दुर्घटना भएको उनले बताए ।


