काठमाडौं, कात्तिक २८ (ई-रैवार)
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कानुन व्यवसायीको धर्ना छल्दै वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । सर्वोच्चको मूल गेटमा वकिलहरू धर्नामा बसेका कारण त्यसलाई छल्दै महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेका हुन् ।
आन्दोलनरत कानुन व्यवसायीहरूले सर्वोच्चको मूल गेट ‘कब्जा’ गरे पनि वैकल्पिक गेटमा भने कुनै अवरोध गरिएको छैन । प्रधानन्यायाधीश जबरा आउँदा अगाडि–पछाडि सुरक्षाकर्मीको गाडी भए पनि साइरन बजाइएको थिएन ।

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरू प्रहरीको घेरा तोड्दै मूल गेटबाट भित्र छिरेर धर्नामा बसेका छन् । अहिले कानुन व्यवसायीहरुले नाराबाजी गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि आन्दोलनकारी वकिलहरूलाई गेटबाहिरै रोक्न प्रहरी असफल भएको छ ।

वकिलहरूलाई रोक्ने क्रममा प्रहरी र कानुन व्यवसायीबीच तनावको स्थिति समेत सिर्जना भएको थियो । सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीले अपिल गरेको छ । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी समेत दिएको छ ।
पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै बारले उनको बहिर्गमनको माग गरेको छ ।


