धनगढी, चैत्र ४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंगरक्षकसहित पाँचजना जुवाडे पक्राउ परेका छन् । कैलाली गोदावरी नगरपालिका वडा नं १० खमौरास्थित जंगल क्षेत्रबाट प्रहरीले डीआईजी सुवेदीका अंगरक्षक प्रहरी सहायक निरीक्षक सहित पाँच जुवाडेलाई पक्राउ गरेको हो ।
कैलाली गोदावरी नगरपालिका वडा नं १० खमौरास्थित जंगल क्षेत्रबाट प्रहरीले बुधबार राति ३ लाख ३४ हजार नगदसहित डीआईजी सुवेदीका अंगरक्षक प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका पाँच जुवाडेलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका-४ घर भइ सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक ४२ वर्षीय पुस्कर भट्ट, कैलाली धनगढी उपमहानगरपालीका- ३ बस्ने ४५ वर्षीय डबल चन्द, वडा नम्बर ४ बस्ने ३९ वर्षीय बालकृष्ण पनेरु, गोदावरी नगरपालिका-५ बस्ने ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भिमदत्त नगरपालिका-४ बस्ने ३७ वर्षीय सन्तोष चन्द रहेका छन् । उनीहरुबाट खुल्ला तास ७ गड्डी, सिलबन्दी तास ४ गड्डी फेलापारि बरामद गरेको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीले भने अहिलेसम्म जुवाडे पक्राउ परेको कुरा सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जुवाडे पक्राउ परेको प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिने बताएका छन्।


