परराष्ट्रमन्त्रीमा खड्का नियुक्त : राष्ट्रपतिलाई पठाइयो पत्र, देउवाको रोजाइमा किन परे खड्का ?

Spread the love

काठमाडौँ, असोज ६ (ई-रैवार)

परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाकी रहेको देउवाले बताएका छन् ।

समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । नेपाली काँग्रेसबाट सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल र विनोद चौधरीले  परराष्ट्रमन्त्रीमा दाबी गरे पनि अन्ततः प्रधानमन्त्री देउवाको रोजाइमा खड्का परेका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले परराष्ट्रन्त्रीमा खड्काको नाम प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री देउवाले काँग्रेसबाट मन्त्री छान्दा विगतमा नेपाली काँग्रेस पार्टी विभाजनमा आफूलाई साथ दिएकाहरूलाई पहिलो प्राथमिकता दिएको देखिन्छ । पार्टी विभाजनमा साथ दिएका बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले गृह र कानुनमन्त्रीको जिम्मेवारी दिएका छन् ।  यसमा अब खड्का पनि थपिएका छन् ।

काँग्रेसमा देउवा र खड्का एउटै कित्तामा छन् । विगतमा कोइराला परिवारसँगको लडाइमा खड्काले देउवालाई साथ दिएको देखिन्छ । तत्कालीन वरिष्ठ नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको जगमा काँग्रेस विभाजन हुँदा खड्का देउवासँगै गएका थिए ।

देउवाले काँग्रेस विभाजन गरेर काँग्रेस (प्रजातान्त्रिक) गठन गर्दा खड्काको बलियो साथ थियो । तर, पार्टी एकता भएपछि भने खड्का देउवासँग टाढिएका थिए । १२ औँ महाधिवेशनमा देउवा क्याम्प छोडेका खड्का १३ औँ महाधिवेशनपछि फेरि देउवासँग नजिकिए ।

पार्टीको राजनीतिमा पनि खड्काको उपस्थिति राम्रै छ । काँग्रेसको १२ औँ महाधिवेशनदेखि खड्का केन्द्रीय कार्यसमितिमै छन् । खड्कालाई काँग्रेसमा विकासवादी नेताका रूपमा लिइन्छ । तर, उनको रुचि भने वैदेशिक मामिला तिरै बढी देखिन्छ । खड्काले वैदेशिक मामिलाबारे दुईवटा किताब लेखेका छन् ।

खड्काले पछिल्लो समय वैदेशिक नियोगका पदाधिकारीलाई देउवासँग भेटघाट गराउने सूत्रधारका रूपमा काम गर्दै आएका थिए । सरकार निर्माणका सन्दर्भमा पनि बाह्य वातावरण मिलाउने भूमिकामा खड्का अग्रसर थिए ।

वैदेशिक मामिलामा रुचि राख्ने खड्काले पछिल्लो समय मित्रराष्ट्रहरूसँग देउवाको सम्बन्ध नवीकरण गर्न राम्रै भूमिका खेलेको काँग्रेस नेताहरू बताउँछन् । योबीचमा देउवासँग विदेशी प्रतिनिधिले गर्ने भेटघाटमा खड्का प्रायः सँगै हुन्थे । संसद् विघटनपछि राष्ट्रिय राजनीतिबारे देउवा र खड्काको धारणा पनि समान थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले परराष्ट्र नीति खलबल्याएको प्रधानमन्त्री देउवा र खड्काको साझा निष्कर्ष छ । त्यसलाई ट्रयाकमा ल्याउन परराष्ट्र मन्त्रालय काँग्रेसले नै राख्ने नीतिअनुसार नै खड्कालाई परराष्ट्रमन्त्री बनाइएको काँग्रेस नेताहरू बताउँछन् ।

को हुन् खड्का ?

विसं. २००५ साल चैत ७ गते भोजपुरमा स्वर्गीय चित्रबहादुर र धर्मकुमारी खडकाको कोखबाट जन्मेका डाक्टर खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधी (पीएचडी) गरेका छन् ।

खड्काले २०२३ बाट नेपाली काँग्रेसको राजनीति थालेका थिए । विद्यार्थी संगठनबाट राजनीतिमा आएका खड्का विराटनगर र काठमाडौँमा पटक–पटक पक्राउ परेका थिए । उनले लामो समय काँग्रेस संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईका विश्वास पात्रका रूपमा काम गरे ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा खड्का उनको प्रमुख राजनैतिक सल्लाहकार भएका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला  प्रधानमन्त्री    हुँदा  खड्का सहरी विकास मन्त्री भएका थिए ।

२०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछि पछाडि फर्किनु परेको छैन । ०६४ सालको संविधानसभामा उदयपुरको क्षेत्र न १ बाट खड्का विजयी भएका थिए  । त्यसबेला उनले माओवादी केन्द्रका राजन किराँतीलाई पराजित गरी संसदीय यात्रा तय गरेका थिए ।

यस्तै २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर १ नम्बर क्षेत्रबाटै खड्काले विजय हासिल गरेका थिए । ०७४ मा बाम गठबन्धन बनेपछि काँग्रेसका घाघडान नेता पराजित हुँदा पनि उदयपुर क्षेत्र नम्बर १ बाट खड्का प्रतिनिधिसभामा निर्वाचित भए । वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी मञ्जु चौधरीलाई ५४८ मतान्तरमा खड्काले जितेका हुन् ।