काठमाडौँ, असार २० (ई–रैवार)
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।
सञ्चारकर्मी रुपा सुनारले मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।
रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सिहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ ।
मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै रिटमा उनलाई पदबाट हटाउन माग गरिएको हो ।
थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।
शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।


