काठमाडौँ, असार २० (ई–रैवार)
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सभामुखका अधिवक्ताहरूको बहस हुने भएको छ । इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँचजना अधिवक्ताहरूले बहस गर्ने भएका हुन ।
सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् । उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ ।
सभामुखका कानुन व्यवसायीको बहसपछि निवेदकका तर्फबाट जवाफ दिने कार्यसूची छ। जवाफी बहस सकिएपछि सर्वोच्च बार र नेपाल बारका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्नेछन्। सो बहससँगै प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाईका लागि छुट्याइएको ३२ घण्टा बहसको समय सकिनेछ।
गत असार ९ गते शुरू भएको सुनुवाइमा यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना अधिवक्ताले बहस गरेका छन् । उनीहरूले १४ घण्टा बहस गरेका छन् ।
सुनुवाइको शुरूवातमा निवेदक पक्ष (विपक्षी गठबन्धन) का तर्फबाट ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । उनीहरुले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् । जवाफी बहसका लागि उनीहरूलाई ३ घण्टा समय दिइएको छ ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने तय भएको छ । सोमबार एमिकस क्युरीले २ घण्टा राय दिएपछि यो मुद्दाको फैसला आउनेछ ।
नयाँ सरकार बन्ने विकल्प हुँदाहुँदै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन् । ती रिट निवेदनमध्ये ४ वटामा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिनुपर्ने माग गरिएको छ भने २६ वटामा आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने माग गरिएको छ ।


