सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध सोमबार रिट दायर गर्ने

Spread the love

काठमाडौं, जेठ ९ (ई-रैवार)

विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् । आइतबार समय अपुग भएकाले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार विहान १० देखि ११ बजेका बीचमा रिट दायर गर्ने भएका हुन ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने बताएका छन् । आज रिट दिने तयारी गरे पनि सांसदहरूको हस्ताक्षर संकलन भइसकेको छैन। तर नेता पुनले भने सबै सांसदको हस्ताक्षर गरिएको र बहुमत पुगिसकेको दाबी गरेका छन्।

‘हामी भोलि संसद विघटनविरूद्ध रिट दायरको लागि फिजिकल्ली नै सर्वोच्चमा जान्छौं । नागरिकता, कागजातलगायतका काम बेलुकासम्‍म सकिन्छ । आजै जाने विचार थियो । तर ३ बजिसक्यो’ उनले भने ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर बाँकी रहेको बताइएको छ। आज बानेश्वरमा नेपाल पक्षका १८ जना नागरिकता लिएर पुगेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।

कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको लेखकले बताए ।

रिटको मस्यौदा तयार गर्न कांग्रेस नेता लेखक, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ, कानुन व्यवसायीहरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधान संलग्न भएका थिए ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा रिटको मस्यौदा तयार गरेपछि संघीय संसद भवन नयाँ वानेश्वरमा आई रिटमा सांसदहरुले हस्ताक्षर गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार हस्ताक्षर गरेका १४९ जनाबाहेक अरूले पनि हस्ताक्षर गरेको बताए । केही चिन्ता नलिनुहोला, अस्ती हस्ताक्षर गरेका १४९ मा अझै केही सांसद थपिनुभएको छ,’ प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका १४९ जना नै शारीरिक रुपमा बहुमत सदस्यसहित अदालत जाने बताएका छन् । आज तयारी गर्दागर्दै नभ्याएकाले भोलि जाने उनले बताए ।

आइतबार बानेश्वरमा भएको विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच बैठकमा केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा एकजुट भएर ओलीको कदमविरुद्ध लागिपर्ने निर्णय भएको काँग्रेस नेता गगन कुमार थापाले जानकारी दिए ।

‘केन्द्रमा ५ वटा शक्तिबीच जसरी मोर्चाबन्दी भएको छ , त्यसैगरी मातहतका कमिटीमा पनि यी ५ वटै शक्तिबीच मोर्चाबन्दी गरेर सरकारका विरुद्ध राजनीति र न्यायिक लडाइ लड्ने सहमति भएको छ’, थापाले भने, ‘सम्बन्धित पार्टीले आफ्ना मातहतका कमिटीलाई निर्देशन दिने शीर्ष नेताहरुबीच सहमति भएको छ ।’

‘नेपाली कांग्रेसको तर्फबाट सबै जिल्लाहरुमा र सबै पालिकाहरुमा विपक्षी दलहरुको गठबन्धन आ-आफ्नो पार्टीका तर्फबाट छलफल गर्ने, अहिलेको अवस्था हेरी कार्यक्रमहरु तय गर्ने र राजनीतिक प्रतिरोधका कार्यक्रमहरु अगाडि लैजाने छौं ।’

बैठकमा काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव कुमार नेपाल समूह र जनमोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।