१५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी

१५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी
Spread the love

काठमाडौं, जेठ ७ (ई-रैवार)

नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ गरी १५३ जना सांसदको हस्ताक्षरसहित ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गर्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली शीतलनिवासमा विपक्षी गठबन्धन पुग्नु भन्दा १० मिनेट पहिल्यै पुगेको स्रोतले जानकारी दिएको छ । उनी करिब एकघण्टा बसेर त्यहाँबाट बाहिरिएका छन् ।

ओली र जसपा नेपालका महन्त ठाकुर र राजेन्द्र महतो समुहले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेको स्रोतले बताएको छ। झन्डै आधा घन्टा शितल निवासमा बिताएका प्रधानमन्त्री ओलीले नयाँ सरकारका लागि दाबी पेश छन् ।

ओलीले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ जनाको हस्ताक्षर बुझाएको नेता विष्णु रिमालले जनाएका छन् । तर ओलीले बुझाएको भनिएका हस्ताक्षरकर्ता भने अहिले विपक्षी गठबन्धनका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै शीतलनिवास पुगेका छन् ।

ओलीले हस्ताक्षर बुझाएको भनिएका नेताहरु माधवकुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेता अहिले शीतलनिवासमै छन् ।

यता विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास गएका छन्। उनलाई कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), एमालेका २७ र जसपाका १३ सांसदले साथ दिएका छन्। देउवासहितका नेताहरू अहिले पनि शितल निवासमै छन्। अब राष्ट्रपतिले कसलाई मान्यता दिनेछिन् भन्नेमा सर्वत्र चासोको बिषय बनेको छ ।