काठमाडौं, जेठ ७ (ई-रैवार)
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति निवास पुगेका नेताहरु पत्र दर्ता गरेर निस्किएका छन् । विपक्षी गठबन्धनका नेताहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई भेटेर हस्ताक्षरसहितको दाबी बुझाएको हो ।
राष्ट्रपतिलाई भेटेर हस्ताक्षरसहितको दाबी बुझाइएको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रपतिले सांसदहरुको हस्ताक्षरसहितको पत्र बुझेर दर्ता गर्न निर्देशन दिएकी थिइन् ।
देउवाले आफ्नो दाबी पेस गर्दै संविधान बमोजिम अघि बढ्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले पनि भर्खर दाबी प्रस्तुत गरेको सुनाउँदै भनिन्, ‘म सल्लाह गर्छु, कानूनी पक्षहरु पनि हेर्छु ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीको नाम प्रस्तावित भएकाले यसलाई सरल रूपमा कार्यान्वयन गर्न भनेका थिए। ‘यसलाई जटिलतातिर नलगिओस्, सामान्य रूपमा राजनीतिले निकास पाओस्,’ उनले भनेका थिए।
उनीलगत्तै बोलेका नेकपा एमालेका नेता माधवकुमार नेपालले पनि बहुमत सांसदहरूको हस्ताक्षर कार्यान्वयन नगरेर राजनीतिलाई जटिलतातिर लगिए मुलुकमा असहज परिस्थिति उत्पन्न हुने बताए। ‘राष्ट्रपतिले बहुमत सांसदहरूको हस्ताक्षरअनुरूप तुरून्तै नयाँ सरकार गठन अघि बढाउनुपर्छ,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सरकारका लागि दावी गर्दै १५३ सांसदको हस्ताक्षर पेश गरेका छन् भने काँग्रेस सभापति देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका छन् ।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसद आफूसँग रहेको दाबी राष्ट्रपतिसमक्ष गरेका छन्।
सभापति देउवाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसद, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद गरी १४९ जनाको समर्थन आफूसँग रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन्।
प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये चार सिट खाली छ । नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका चार सांसदलाई कारवाही गरेपछि ती चार सिट रिक्त रहेको हो । अन्य चार सांसद निलम्बनमा छन् ।
निलम्बित सांसदलाई समेत गणना गर्ने हो भने पनि प्रतिनिधिसभामा जम्मा २७१ सांसद छन् । तर ओली र देउवाले हस्ताक्षर बुझाएको संख्यालाई आधार मान्ने हो भने कुल सांसद संख्या ३०२ पुग्छ ।
केही सांसद दुवै पक्षले आफ्नोतर्फ गणना गरेका कारण यो अवस्था देखिएको छ । ओलीले एमालेका १२१ सांसदकै समर्थन गणना गरेका छन् भने उक्त पार्टीका माधवकुमार नेपालसहितका नेताहरु देउवाको साथ लागेर शीतल निवास पुगेका छन् ।
अर्कोतिर जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराईहरु पनि दुवै तिर गणना भएका छन् । ओलीले जसपाका ३२ सांसदको समर्थन आफ्नो पक्षमा रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् भने सोही पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेता देउवा संगै शीतल निवास पुगेका थिए ।


