सेती प्रादेशिक अस्पतालमा आज २२९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

Spread the love

धनगढी, जेठ ७ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा आज थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५९८ जनाको नमुना परिक्षण गर्दा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रोष्ठका अनुसार संक्रमण पुष्टि भएका मध्ये धनगढी उपमहानगरपालिकाका मात्र ८८ जना रहेका छन्। धनगढी बाहेका कैलालीका १ सय जना र अन्य जिल्लाका ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

सूचना अधिकारी श्रोष्ठका अनुसार हाल सेती प्रादेशिक अस्पतालमा १०८ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये १६ जना आईसीयूमा र ९० जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ। पछिल्लो २४ घण्टामा ४ जना निको भएर घर फर्केका छन भने ११ जना नयाँ सक्रमित भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए।

सेती प्रादेशिक अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सूचना अधिकारी दिलिप कुमार श्रोष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ की ५२ वर्षीया महिला र कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय पुरूष मृत्यु भएको बताए।