काठमाडौं, जेठ ५ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्री ओलीले वक्तव्य जारी गर्दै मत मागेको भन्दै आप्पत्ति जनाएको हो ।
‘वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मौन अवधि चलिरहेका बेला प्रधानमन्त्री ओलीले मतदाता प्रभावित पार्न पदको दुरुपयोग गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने हाम्रो ठहर छ’ प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।
“वाग्मती प्रदेको राष्ट्रियसभामा निर्वाचनका लागि शून्य समय प्रारम्भ भइसकेको अवस्थामा प्रधानमन्त्रीले विज्ञप्ति जारी गरेर मतदातालाई प्रभावित पार्ने काम गर्नुभयो, यो निर्वाचन आचारसंहिताको विपरीत छ,” कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, “यसबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीको माग गरेका छौँ ।”
वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन भोलि हुँदैछ । त्यसको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले रामबहादुर थापा बादलको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।
निर्वाचन आयोगले मौन अवधिमा चुनावी प्रचार प्रसार गर्नु आचारसंहिता विपरीत भएको उल्लेख गरेको छ। बुधबार प्रधानमन्त्री केपी ओलीले बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा विज्ञप्ति सार्वजनिक गर्दै मत मागेपछि आयोगले यस्तो विज्ञप्ति सार्वजनिक गरेको हो।
आयोगले राष्ट्रियसभा उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा वक्तव्य, विज्ञप्ति निकालेर प्रचारप्रसार गर्नु र मत माग्नु आचारसंहिता विपरित भएको भन्दै ध्यानाकर्षण भएको बताएको छ ।
‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगले आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानुन बमोजिम कारवाही गर्न सक्ने कुरासमेत अवगत गराएको छ। एकातिर आयोगले आचारसंहिता पालना गराउन सकेन भनेर आलोचना भएको र अर्कोतिर मौन अवधिमा चुनावी प्रचारप्रसार भएको भन्दै आयोगले आपत्तिसमेत जनाएको हो। आयोगले आचारसंहिता विपरित काम गर्नेको अभिलेखसमेत आयोगले राख्ने उल्लेख गरेको छ।
२०७४ सालको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पदमुक्त भएका हुन्।
एमालेले गृहमन्त्री थापालाई बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदावार बनाएको छ। एमाले भित्रको विवादका कारण नेपाल समूहसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) गठबन्धनका डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ।
यही जेठ १७ गते लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि पनि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)बाट दृगनारायण पाण्डेलाई उमेदवार बनाएको छ । उनी एमाले लुम्बिनी प्रदेशसभा सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका थिए । विपक्षी गठबन्धनले उनलाई नै उमेदवारको बनाएको हो ।


