एमाले स्थायी कमिटी बैठक सकियो, राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

एमाले स्थायी कमिटी बैठक सकियो, राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री
Spread the love

काठमाडौं, वैशाख २३ (ई-रैवार)

नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटीको बैठक सकिएको हो ।

बैठकमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा निर्वाचन र बैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा लिन लागेको विश्वासको मतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

बैठकपछि सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका बारेमा छलफल गरेको बताए ।

निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका छन्’, बैठक पछि ज्ञवालीले भने, ‘सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गर्ने र छलफल अगाडि बढाउने छौ । उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’

यस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।

अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल जारी छ। प्रधानमन्त्री शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।