सेती प्रादेशिक अस्पतालमा थप ३६९ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा थप ३६९ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, वैशाख २३ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा बिहिबार थप ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६५० नमूना परीक्षण गर्दा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार प्रादेशिक अस्पतालको प्रयोगशालामा ६५० नमूना परीक्षण गर्दा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन।

सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका मात्रै ११७ जना रहेका छन । यस्तै धनगढीबाहेक कैलालीका १६१ जना र अन्य जिल्लाका ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल सेती प्रादेशिक अस्पतालमा ५८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन।

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।