दाङ, वैशाख १९ (ई-रैवार)
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले आइतबार बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामापत्र बुझाएका हुन् ।
नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको उनका प्रेस सहयाेगी शेरबहादुर केसीले जानकारी दिएका हुन । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव आज प्रदेशसभाको विशेष अधिवेशनमा पेस हुँदै थियो ।
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।
संवैधानिक व्यवस्था अनुसार पोखरेलले ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री नियुक्त हुन सक्ने समेत जनाइएको छ । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने पोखरेलको दाबी छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ ।


