काठमाडौँ, वैशाख १४ (ई-रैवार)
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न थालेको छ । माओवादी केन्द्रले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।
माओवादीको केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए ।
बैठकको एजेन्डा सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले ल्याउन लागेको अविश्वास प्रस्तावबारे छलफल गर्ने तयारी रहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।
नेताहरुका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयका तर्फबाट पेस हुने विधानमाथि छलफल हुनेछ ।
केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेका बेला माओवादीको बैठकलाई चासोका साथ हेरिएको छ । यसअघि बसेको माओवादी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।


