काठमाडौं, चैत्र ३ (ई-रैवार)
राष्ट्रपति विद्या भण्डारीको आह्वानमा मंगलबार शीतलनिवासमा सर्वदलीय बैठक भएको छ । बैठक आह्वानमै राष्ट्रपतिले विवेक प्रयोग नगर्दा अहिलेको राजनीतिक संकट आएको भन्दै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले सुरुमै बैठक बहिष्कार गरे भने अन्य दलले भने स्वीकार गरेर बैठकमा सहभागी हुन पुगेका थिए ।
राजनीतिक निकासका लागि राष्ट्रपतिले लामो समयपछि सर्वदलीय बैठक डाकेकाले उत्साही हुँदै नेताहरु बैठकमा पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले भने सरकारको प्रशंसा गरेर आफ्नो भनाइ सुरुवात गरेकी थिइन् । भण्डारीले सरकारको प्रशंसाबाट कुरा सुरु गरेर राष्ट्रियस्तरको विषयसमेत नराखेपछि बैठक प्रधानमन्त्रीको कि राष्ट्रपतिको भन्दै प्रश्न उठेको छ ।
भेटमा सहभागी नेमकिपा सांसद प्रेम सुवालका अनुसार राष्ट्रपति भण्डारीले सरकारले लिम्पियाधुरासम्म समेटेर नेपालको नक्सा छापेर राम्रो काम गरेको भन्दै प्रशंसा गरेकी थिइन् । “लिम्पियाधुरासम्मको नक्सा छापेर यो सरकारले एकदमै राम्रो काम गरेको छ,” भेटपछि सांसद सुवालले भने, “उहाँले सरकारको राम्रो काम भनेपछि नेपालको शिक्षाबारे चिन्ता लिनुभयो, जलवायु परिवर्तनबारे पनि चिन्ता लिनुभयो ।” उनका अनुसार त्यति भनेर आफ्नो भनाइ सकाएपछि अन्य दलका नेताहरु बोलेनन् र प्रधानमन्त्रीले नै मेरा कुरा राख्नुछ भन्दै बोल्न सुरु गरेका थिए ।
“संसद् विघटन सर्वोच्च अदालतबाट बदर भएपछि संसद् बैठक सरकारले बोलाएको छ, संसद् र सरकार चल्न दिइएन भने फेरि पनि विघटनको अर्को विकल्प छैन,” सर्वदलीय बैठकमा प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सुवालले बाह्रखरीसँग भने, “फेरि पनि विघटन हुन सक्छ भन्ने स्पष्ट सन्देश उहाँले दिनुभएको छ ।” उनका अनुसार ओलीले हरेक विघटन प्रतिगमन नहुने भन्दै संविधानमा पाँच वर्ष अवधि तोकिए पनि त्योभन्दा अघि पनि संसद् विघटन हुने भन्दै संविधानको धारा ८५ को ‘अगावै विघटन भएमा बाहेक’ भन्ने व्यवस्था कोट गरेका थिए ।
वालका अनुसार ओलीले त्यसरी धम्कीपूर्ण भाषामा कुरा राखेपछि पनि सहभागी नेताहरुले प्रतिवाद भने गरेनन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राजनीतिक छलफल दलहरुकाबीचमा हुने भन्दै राष्ट्रपतिलाई चियापानको निम्तोका लागि धन्यवाद दिएर कूटनीतिक भाषाको प्रयोग गरेका थिए ।
“राजनीतिक विषयका छलफल राजनीतिक दलकाबीचमा हुन्छन् र तीनै छलफलबाट निकास निकाल्ने हो, राष्ट्रिय संकट भएमा बाहेक राष्ट्रपतिसहित बसेर छलफल र निर्णय गर्न आवश्यक छैन,” दाहालको भनाइ उदृत गर्दै सुवालले भने, “राष्ट्रपतिज्यूले चियापानका लागि आमन्त्रण गर्नुभयो । त्यसका लागि म धन्यवाद दिनचाहन्छु ।”
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने प्रधानमन्त्रीलाई संसद विघटन गरेर संविधान भताभुंग पारेको आरोप लगाएका थिए । “प्रधानमन्त्रीजीले संसद विघटन गरेर संविधान घताभुंग पार्नुभयो,” पौडेलले भनेका थिए ।
बैठकमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने राजनीतिक संकटको निकाय अपरिहार्य भएको भन्दै त्यो निकास संसद्बाटै निकाल्नुपर्ने बताएका थिए । “अहिले राजनीतिक संकटको अवस्था छ, यसको निकास अपरिहार्य छ,” निधिको भनाइ उदृत गर्दै सुवालले भने, “संसदमा विश्वासको मत लिएर हुन्छ वा अविश्वास प्रस्ताव मार्फत हुन्छ निकास अनिवार्य छ ।”
नेमकिपाले भने प्रजातन्त्र र संसदीय व्यवस्थामा चुनाव घोषणा र निर्वाचन घोषणा स्वभाविक विषय भएको भन्दै त्यसमा कसैले पनि प्रतिगमन भन्न नहुने बताएको जानकारी दिए ।
“संसदको विघटन प्रजातान्त्रिक हो भनेर हामीले आफ्नो भनाई राखेका छौ,”सुवालले भने, “प्रजातन्त्रमा विश्वास राख्नेले चुनावलाई अस्वीकार गर्नु हुँदैन ।”
सभापति शेरबहादुर देउवाले बैठकमा कांग्रेसले अविश्वास वा विश्वासको मत लिएर राजनीतिक निकास सिफारिस गरेको बताए । नेकपा (माओवादी –केन्द्र)ले दलहरुबीच हुने हरेक छलफलमा राष्ट्रपतिलाई साक्षी राख्न जरी न भएको भन्दै चियापानका लागि गरेको निम्तोलाई धन्यवाद दिएको छ । साना दलहरुले आफ्नो भनाई राखेका छन् । तर सर्वदलीय बैठकको एजेन्डा भने खासै देखिएको थिएन ।
राष्ट्रपतिको अगाडि प्रधामन्त्री ओलीको चेतावनी ? फेरि पनि संसद् विघटन हुन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद विघटन हुने बताएका छन् । राष्ट्रपति विद्या भण्डारीले डाकेको सर्वदलीय बैठकमा पुगेका प्रधानमन्त्रीले प्रतिनिधिसभा पुन:स्थापित भएपछि पनि सहज रुपमा चल्न नदिने प्रयास भएको भन्दै सरकार र संसद् चल्न नदिए फेरि पनि चुनाव विघटन गरेर चुनाव घोषणा गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति भण्डारीले बैठकमा सरकारले लिम्पियाधुरासम्मको नक्सा छापेर राम्रो काम गरेको भन्दै प्रशंसा गरेकी थिइन् । शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको भन्दै चिन्ता व्यक्त गरेकी राष्ट्रपति भण्डारीले जलवायू परिवर्तनको असरका विषयमा समेत चिन्ता व्यक्त गरेकी थिइन् । कोभिड–१९का कारण चाहेर पनि दलहरुसँग भेटघाट गर्न नपाएको बताएकी राष्ट्रपति भण्डारीले त्यही कारण आज बैठक डाकेको भन्दै सर्वदलीय बैठकको औचित्य पुष्टि गरेकी थिइन् ।
त्यसपछि म कुरा राख्छु भन्दै समय लिएका प्रधानमन्त्री ओलीले फेरि पनि संसद् विघटन हुने चेतावनी दिएका थिए ।
“प्रतिनिधिसभा चल्न नसक्ने भएपछि विघटन गरेर ताजा जनादेशका लागि चुनाव घोषणा भएको थियो,” प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भेटमा सहभागी नेमकिपा सांसद प्रेम सुवालले भने, “सरकार सर्वोच्चको आदेश मान्छ, तर संसद् चल्न नदिने प्रयास भयो भने फेरि पनि संसद् विघटन हुन्छ । त्यसको अर्को विकल्प छैन ।” उनले हरेक संस्था विघटन हुने भन्दै विघटन गरेर चुनावमा जाने कुरा प्रतिगमन नहुने बताएका थिए । बाह्रखरीबाट


