काठमाडौं, चैत्र ३ (ई-रैवार)
प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । प्रतिनिधिसभाको बैठक पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।
मंगलबारको संसद् बैठक ६ मिनेट ५२ सेकेण्डसम्म चलेको थियो । प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराए ।
यस्तै सभामुख सापकोटाले बैठकमा जनता समाजवादी पार्टीले सांसद सरिता गिरी पदमुक्त भएको जानकारी गराए । गिरीले दलको निर्देशन उल्लंघन गरेकाले पदमुक्त गर्ने उनको पार्टीले निर्णय गरेको थियो । त्यस्तै सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको सांसद पदमा चयन भएका मोहनप्रसाद पाण्डेलाई सभामुखले स्वागत गरे ।
गत पुस ५ गते विघटित प्रतिनिधि सभा सर्वोच्चले फागुन ११ गते संसद् पुनर्स्थापना गरिदिएपछि मंगलबारसहित गरि तीन पटक बैठक बसिसकेको छ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक गत फागुन २३ गते बसेको थियो । दोस्रो पटक फागुन २६ गते बैठक बसेको थियो ।


