सभापति देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड, के भयो संवाद ?

सभापति देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड, के भयो संवाद ?
Spread the love

काठमाडौं, फागुन २५ (ई-रैवार) 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल मंगलरबार पेरिसडाँडाको स्थायी कमिटी बैठक सकेर कांग्रेस सभापति देउवालाई भेट्‌न बूढानिलकण्ठ पुगेका हुन ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरुबीच आधा घण्टा भेटवार्ता भएको थियो । “प्रचण्डजी आउनुभएको थियो । उहाँहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्‍वासको प्रस्ताव ल्याउने अथवा नल्याउने भन्‍ने प्रसंग निकाल्‍नु भएको थियो ।” स्वकीय सचिव देउवाले भने ।

जवाफमा प्रचण्डले सभापति देउवाले माओवादी केन्द्रको स्थिति अहिले सत्तापक्ष कि प्रतिपक्ष भन्‍ने क्लियर गर्न आग्रह गरेका छन् । देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्‍यो, “तपाईंहरुको पार्टी त अलग भयो । तर, माओवादी केन्द्र सत्तापक्ष कि प्रतिपक्षी भन्‍ने क्लियर हुनुपर्‍यो । तपाईंहरुकै साथीहरु मन्त्री हुनुहुन्छ ।”

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छैन भने माओवादी केन्द्रबाट नै मन्त्री बनेकाहरु अहिले सरकारमै छन् ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस र जसपासँग संसद् र सरकार सञ्चालनका विषयमा वार्ता गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० खारेज भएको निर्णय गरेसँगै नेकपा एमाले र नेकपा माओवादी ब्युँतिएको छ ।