काठमाडौं, फागुन २५ (ई-रैवार)
जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले अब उधारो सम्झौतामा सत्ता नजाने बताएका छन् । पार्टीको संसदीय दलको बैठक सकिएपछि नेता महतोले सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन ।
नेता महतोले सत्ता समीकरणका लागि आफूहरु खुला भएको बताएका छन् । उनले सत्ता सहकार्यका लागि सबै दलसँग वार्ता गर्न टोली नै गठन गर्नेसमेत बताए । “हामी सत्ता समीकरणका लागि खुला छौं । तीनवटै दलसँग सरकार निर्माणका विषयमा कुरा गर्छौं । अब उधारो सम्झौतामा सत्ता जाने काम हुँदैन ।”
नेता महतोले सत्तारुढ नेकपा एमालेसँग प्रधानमन्त्री ओलीको आग्रहमा रेशम चौधरी रिहाइको विषयमा कुराकानी भएकोसमेत बताएका छन् । उनले थपे, “हामी अब उधारोमा कसैसँग पनि सहकार्य गर्दैनौं । विगतका अनुभवमा आधारित रहेर अघि बढ्छौं । पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्छौं ।”
मंगलबार सत्तारुढ एमाले र जसपाका नेताबीच सत्ता सहकार्यका विषयमा छलफल भएको थियो । छलफलमा सरकार पक्ष रेशमको विषयमा सकारात्मक भएको बताइएको छ ।
नेता महतोले पार्टीको संसदीय दलको नेता चयनका लागि विधान संशोधन गरिने पनि बताएका छन् । संसदीय दलको बैठकमा समसायिक विषयको समीक्षा भएको उनले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा जसरी पनि बहुमत पुर्याउने उद्देश्यका साथ जसपाको पूर्व राजपा समूहलाई फकाउने प्रयास गरिरहेका छन् ।
तर, बाबुराम भट्टराई र उपेन्द्र यादव भने एमालेसँग सत्ता सहकार्य गर्न नसकिने पक्षमा उभिएका छन् । भट्टराई र यादव भने ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् । एक नेता भन्छन्, ‘रेशम चौधरीको रिहाइ हामी सबैको एजेण्डा हो । तर सत्ता साझेदारी ओलीसँग गर्न हुन्न भन्नेमा हामी छौं । उहाँहरु (ठाकुर र महतो) कसरी आउनुहुन्छ, हेर्न बाँकी छ ।’ आजको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेको छैन ।


