धनगढी, भदौ ६ (ई-रैवार)
दुई दिन देखि जारी निषेधाज्ञाले कैलाली कंचनपुर ठप्प रहेको छ । गत साउन ७ गतेबाट खुलेको लकडाउन पछि झण्डै एक महिना चहल पहल बढेको यी दुई जिल्लामा पुन भदौ ४ गते राती देखिको निषेधाज्ञाले सुनसा नबनेको हो ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका ४ जिल्ला कैलाली, कंचनपुर, बैतडी र डडेल्धुरामा भदौ ४ गते राति देखि निषेधाज्ञा जारी गरिएको छ ।

खासगरी कैलाली र कंचनपुरमा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ भने बैतडी र डडेल्धुरामा जिल्ला सदरमुकाम रहेका स्थानीय तह र आसपासमा मात्र निषेधाज्ञा जारी गरिएको हो । भदौ १४ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको कैलाली कंचनपुरमा यो समयमा तीज र गौराको रौनक अत्याधिक हुने गर्दथ्यो ।
अहिले सुदूरपश्चिममा तीज र गौरा पर्बको चहल पहल बढेपछि मानिसको आवत जावत बढ्यो’ धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वडले भने–‘संक्रमित पनि थपिदै गएका छन्, अझ त्यसमा चाडपर्वले मानिसको चाप बढेपछि निषेधाज्ञा जारी गर्नु प¥र्यो ।’ उनले अपिल गरे भिडभाड नियन्त्रण गर्ने अबस्था नदेखिएपछि बाध्य भएर निषेधाज्ञाका जारी गर्नु परेको बताए ।

धनगढी उपमहानगरपालिकामा शुक्रबार मात्र ३० जना संक्रमित थपिएका छन् । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत लक्ष्मी उपाध्यायका अनुसार धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १ सय ३२ जना निको भैसकेका छन भने एक्टिभ संक्रमित १५ महिला र २१ पुरुष गरि ३६ जना रहेका छन ।
खासगरी गौरापर्बका अवसरमा कंचनपुर, डडेल्धुरा र बैतडीमा बढी भिडभाड हुने भएकाले पनि निषेधाज्ञा जारी गर्नु परेको यस क्षेत्रका जनप्रतिनिधीहरु बताउँछन ।

भारतबाट नेपालीहरु प्रवेश गर्ने क्रमसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । शुक्रबार सम्म सुदूरपश्चिम प्रदेशमा ५ हजार १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ५ हजार मध्ये ४ हजार ३ सय ७४ जना निको भएर घर फर्किसकेका छन भने ७ सय ५२ जना अझै प्रदेशमा सक्रिय संक्रमित रहेका छन ।


