काठमाडौं, फागुन २३ (ई-रैवार)
कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरणमा ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान काठमाडौं आइपुगेको हो ।
स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरे । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।
कोभ्याक्स यसअघि एक विज्ञप्ति जारी गर्दै कोभ्याक्स सदस्य राष्ट्र रहेको नेपालले २२ लाख ५६ लाख डोज पाउने जनाएको थियो । विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो ।
उक्त कार्यक्रम अन्तर्गत त्यस्ता राष्ट्रहरूले कम्तिमा २० प्रतिशत खोप पाउने भनिएको छ । यद्यपि सुरूमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने भनिएको छ ।
नेपालले पाउने भनिएको खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक खोप हो । सिरमले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनकाले विकास गरेको खोप भारतमा कोभिशिल्ड नाम दिएर उत्पादन गरिरहेको छ ।
यसअघि भारतले कोभिसिल्ड खोप नै १० लाख डोज अनुदानमा दिएको थियो । त्यसपछि सरकारले थप १० लाख डोज खोप खरिद गरेको थियो ।
सरकारले फागुन २३ देखि दोस्रो चरणमा कोरोना खोप अभियान सुरु गरेको छ । दोस्रो चरणमा यसअघि ५५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताएको सरकारले अब ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाउने बताएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने छ ।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।


